काठमाडाैं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता गरेका छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेकाे स्पष्ट पारे।
विश्व शक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएको भन्दै उनले भने, “नेपाल पनि सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ।”
नेपाल-चीनले एक अर्काको स्वाभिमानलाई सम्मान गर्दै आएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले भने, “शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तका आदर्शहरूमा दुवै देशको अटल विश्वास छ। चीन र नेपाल एक अर्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सधैँ सम्मान गर्दै आएका छन्।”
विश्व व्यवस्थालाई न्यायोचित, समावेशी, निष्पक्ष र नियममा आधारित बनाउन तथा आर्थिक विश्वव्यापीकरण र बहुपक्षीयतालाई प्रवर्द्धन गर्न र गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धि विश्वका लागि एक अनुपम उदाहरण बनेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले विकासोन्मुख र अतिकम विकसित मुलुकको हित प्रवर्द्धनार्थ चीनले खेल्दै आएको नेतृत्वदायी भूमिकाको सराहना पनि गरे।।
नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको उनले बताए। अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीका समयमा नेपाल र चीनबीचको व्यापार र लगानीका गतिविधिहरु प्रभावित भएको तथा अहिले तीन वटा नाकाहरु खुला भएकाले यसले व्यापार र लगानीमा प्रवर्द्धन गर्ने बताए।
मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चलान गर्न आवश्यक रहेको बताउँदै नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा रहेकाले कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रासमेत छोटो र सहज हुने उनले बताए।
कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको र नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य सुरु गर्न नसकिएको अवस्थामा नेपालतर्फ भन्सार पूर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरेको अध्यक्ष तिमिल्सिनाले बताए।
नेपालको मुस्ताङ जिल्ला र तिब्ब्तको ढोङवासेन जिल्लाको सिमानामा हरेक वर्ष जुन र सेप्टेम्बर महिनामा लाग्दै आएको नेचुङ (लिक्ची) मेला रोकिएको हुँदा मेला सुचारु गर्न पनि उनले आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले नेपालबाट तिब्बततर्फ निकासी हुने जनवारको आहारमा प्रयोग हुने तयारी घाँस तथा फलफूल, तरकारी र जडिबुटी जस्ता कृषिजन्य उत्पादनको निकासीमा तिब्बत सरकारले भन्सार प्रक्रिया सहजीकरण गर्दा दुई देशबीचको व्यापार असन्तुलन घट्ने विश्वास पनि व्यक्त गरे।
काठमाडौंदेखि ल्हासा, पोखरा र भैहरवा सीधा उडान सुचारू गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिको प्रक्रियामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविध बढ्ने भन्दै तिब्बत सरकारको ध्यानाकर्षण गराएको उनकाे सचिवालयले बताएकाे छ।