काठमाडौं– सामाजिक सञ्जालकाे दुरुपयाेग गरी नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
पर्वत कुश्मा नगरपालिका-१४ स्थायी घर भएका ४२ वर्षीय राम कुमार सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको हाे।
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा पीडितको तस्विर र नाम राखी नक्कली प्रोफाइल खोली अश्लील तस्विर तथा भिडियोहरूमा अनुहार जोडी दुःख, हैरानी तथा चरित्रहत्या गरेको भन्दै प्रहरीमा उजुरी परेकाे थियाे।
उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट सुनारको संलग्नता खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पोखराबाट पक्राउ गरेको हो।
उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको अपराध कसूरमा जिल्ला अदालत काठमाडौंबाट छ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ।