काठमाडौं- आज मध्य र पश्चिमी तराईमा अत्यधिक गर्मी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
विभागका अनुसार मध्य तथा पश्चिमी तराईमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएकोछ। सोही कारण ती भूभागमा तातो हावा (लू) चलिरहने देखिएको छ।
कोशी, वागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। अत्यधिक गर्मी, मेघ गर्जन र चट्याङबाट हुन सक्ने जोखिमबाट उच्च सतर्कताका लागि विभागले आग्रह गरेको छ।
देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम छ। मनसुन प्रवेश नगरिसकेकाले देशभर गर्मी उच्च विन्दुमा छ। आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी, वागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी र वागमतीमा आंशिकदेखि सामान्य बदली तथा देशभरको पहाडमा आंशिक बदली रहने सम्भावना छ। हिमाल र तराईमा मौसम सफा रहनेछ। कोशी र वागमतीका थोरै र मधेश प्रदेशसहित अन्य भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।