काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज पनि अत्यधिक गर्मी हुने प्रक्षेपण गरेको छ।
आगामी २४ घण्टाको मौसम अलर्ट जारी गर्दै विभागले तराईका केही भूभागहरूमा तातो हावा (लू) चल्ने र पहाडी इलाकामा पनि अत्यधिक गर्मी हुने जनाएको छ।
विभागका अनुसार देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा देशका बाँकी पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
खासगरी, अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै तथा बाँकी पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
आज राति पहाडी भेगका आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।