नयाँदिल्ली- नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।
उनी बुधबार अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका हुन्। प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।
हिजो साँझ प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका थिए। साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी थिए।
प्रधानमन्त्री दाहालले बिहीबार बिहान महात्मा गान्धीकोे समाधिस्थल राजघाट पुगेर पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ। त्यसलगत्तै भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ।
केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची छ।
प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय समकक्षी मोदीले दिवा भोजको आयोजना गरेका छन्। त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने अन्तक्र्रियालाई बिहीबार नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।