काठमाडाैं– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताएका हुन्। प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ थियो।
“प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ”, सभापति देउवाले भने। लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने उनको भनाइ छ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई शुद्धिकरण गर्दै संस्थागत ढङ्गले अगाडि बढाउनका लागि वर्तमान कार्यसमिति लागिपरेको बताए। उनले युनियनका अधिकांश प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै यसै महिनाभित्र बाँकी जिल्ला र प्रदेशको अधिवेशनसमेत सम्पन्न गरिसक्ने बताए।
अध्यक्ष लम्सालले कांग्रेसले जितेका स्थानीय तह र कांग्रेसको नेतृत्वमा सञ्चालन भएका प्रदेश सरकारले प्रेसमैत्री कानुन निर्माण गर्दैनन् कि भन्ने शङ्का बढेको भन्दै यसमा पार्टीलाई रचनात्मक भूमिका निर्वाह गरिदिन आग्रह समेत गरे।
नेपाल प्रेस युनियनले २०८० साललाई ‘प्रशिक्षण वर्ष’का रुपमा अगाडि बढाउन लागेको महासचिव दिलीप पौडेलले जानकारी दिए। प्रशिक्षण वर्षमा युनियनले देशैभरि पत्रकारको हक, हित र अधिकारका साथै उनीहरुको क्षमता अभिवृद्धि र समाचार लेखन विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ।