अम्मान- जोर्डनका युवराज शहजादा हुसेन बिन अब्दुल्लाह द्वितीयले १ जुनमा साउदी आर्किटेक्ट रजवा अल सेफलाई बेहुली बनाउँदै छन्। त्यसका लागि शुरु भएका विभिन्न समारोहले अहिले विश्वभरकै ध्यान तानेका छन्।
विवाह अगाडि हुने पारम्परिक समारोहहरूले सामाजिक सञ्जालमा चर्चा कमाएका छन्। उनको विवाहमा जोर्डनमा सार्वजनिक विदा दिइएको छ। विवाहका लागि संसारभरबाट भीभीआईपी पाहुना बोलाइएको छ। विवाहको दिनमा अरबमा चर्चित गायकहरूले निःशुल्क कन्सर्ट दिँदै छन्, राजधानी अम्मानमा।
राजकुमार हुसेन २८ जुन १९९४ मा जन्मेका हुन्। उनी शाह अब्दुल्लाह द्वितीय र महारानी रानयाका जेठा छोरा हुन्। उनका एक भाइ शहजादा हासिम तथा दुई बहिनीहरू इमान र सलमा छन्। जोर्डनकै किङ्स एकेडेमीबाट विद्यालय शिक्षा पूरा गरेका उनी अमेरिकाको जर्जटाउन युनिभर्सिटीमा अन्तर्राष्ट्रिय इतिहासका स्नातकोत्तर हुन्।
जुलाई २००९ मा उनलाई युवराज घोषित गरिएको थियो। २२ सेप्टेम्बर २०१७ मा २० वर्षको उमेरमा उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद बैठकको अध्यक्षता गरेर संसारभर चर्चा कमाएका थिए।
सन् २०१५ मा उनले क्राउन प्रिन्स फाउन्डेसन स्थापना गरे। सोही फाउन्डेसनमार्फत युवालाई सूचना प्रविधि, पर्यटन र अन्य महत्त्वपूर्ण क्षेत्रमा विकासका लागि सहायता दिए। त्यसैको परिणाम हो, सन् २०१८ मा जोर्डनले पहिलोपटक आफ्नै उपग्रह अन्तरिक्षमा पठाउन सफलता पाएको पनि।
उनीसँग विवाह हुन लागेकी २८ वर्षीया रजवा अल सेफ प्रसिद्ध व्यापारी पिता खालिद अल सेफकी छोरी हुन्। खालिदको अल सेफ समूहले स्वास्थ्य, निर्माण र सुरक्षा क्षेत्रमा काम गर्छ।
साउदी राजधानी रियादमा जन्मेकी उनी चार भाइ–बहिनीमध्ये सबैभन्दा कान्छी हुन्। उनले न्युयोर्कको सिराक्युज युनिभर्सिटीबाट स्नातक गरेकी छन्। विवाहलगत्तै उनलाई जोर्डनको शाही जिम्मेवारी प्राप्त हुनेछ।