काठमाडौं- आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यस्तै, कोशी, मधेश र वागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको विभागले बताएको छ। खासगरी, अधिकांश प्रदेशको पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। मेघ गर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने जनधनको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हिजो राति कोशी, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा रेकर्ड भएको थियो।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। देशभरका पहाडी भेगका केही स्थान र हिमाल र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश र वागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
आज राति देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान छ। कोशीलगायत प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।