काठमाडाैं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अर्थतन्त्रको जग उठाउन लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्ने बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उनले पर्यटन पनि उद्योग नै भएको भन्दै पर्यटन र साना उद्योगलाई जोडेर प्रचारप्रसार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए।
पर्यटन उद्योग विस्तारै लयमा फर्किएको उल्लेख गर्दै उनले पर्यटन उद्योग प्रवर्द्धनका लागि विकास, विस्तार र विविधिकरणका साथै घरेलु उद्योगलाई जोडेर लैजानुपर्ने आवश्यकता औँल्याए।
महासङ्घले नेपाल सरकारसँगको सहकार्यमा आगामी मङ्सिरमा गर्ने ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवर्द्धन कार्यक्रम-२०८०’ लाई उनले मन्त्रालयको तर्फबाट सहकार्यका लागि सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा महासङ्घको प्रतिनिधिमण्डलले नेपाल प्रवर्द्धन कार्यक्रमको कार्यान्वयनको मोडालिटीबारे छलफल पनि गरेको थियो।