नयाँदिल्ली- भारतको कर्नाटक विधानसभा चुनावमा भारतीय कंग्रेस (कंग्रेस-आई)ले तीन सिट जितेको छ भने अन्य १२९ सिटमा अग्रता लिएको छ।
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार कर्नाटक विधानसभामा कंग्रेस-आईले तीन सिटमा विजय हासिल गरेको छ भने १२९ सिटमा अग्रता लिएको छ।
यस्तै, भारतीय जनता पार्टी (भाजपा) ले ६६ र जनता दल (सेक्युलर)ले २२ सिटमा अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवारले दुई सिटमा अग्रता लिएको छ।
मतभारका आधारमा हेर्दा पछिल्लो परिणामअनुसार कंग्रेस-आईलाई खसेको मतको कूल ४३ प्रतिशत र भाजपालाई ३६ प्रतिशत मत र जनता समाजवादी (सेकुलर)लाई १३.२ प्रतिशत मत प्राप्त भएको छ। भारी समर्थन देखिएपछि कंग्रेस–आईले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रीय कार्यालयमा पटाका पड्काएर खुशी मनाएको छ।
कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ः०० बजेदेखि शुरु भएको थियो। राजनीतिक दलहरूको चर्को प्रचारप्रसार भएको यो चुनाव भाजपा र कंग्रेस-आई दुवैका लागि महत्त्वपूर्ण छ।