पाेखरा- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चार मन्त्री नियुक्त गरेसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ।
नेपाली कांग्रेसबाट आर्थिक मामिलामन्त्रीमा तनहुँका जीतप्रकाश आले, कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नवलपुरका महेन्द्रध्वज जिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बागलुङका दीपेन्द्रबहादुर थापा नियुक्त भएका छन्।
नेकपा (माओवादी केन्द्र)बाट रेशम जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त भएका छन्।
विना विभागीयमन्त्रीका रुपमा पहिले नै शपथ लिइसकेका कांग्रेसका सरस्वती अर्याल तिवारीले ऊर्जा, जलस्रोत तथा खानेपानी र माओवादी केन्द्रका सुशीला सिम्खडाले सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको कार्य विभाजन हेरफेर गरेको थियो।
नयाँ कार्य विभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ।
अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामला, कानुन, सञ्चार आदिको कार्य जिम्मेवारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नेछ।