काठमाडाैं- सांसद सुशीला श्रेष्ठले प्रदेश नं १ नामकरणको विषयमा भएको विवादकाे वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय माग गरेर बोल्दै उनले हिजो झापाको दमकमा भएको आन्दोलनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरीसमेत घाइते भएको बताउँदै वार्ताद्वारा समाधान खोज्न आग्रह गरेकी हुन्।
“प्रदेश नं १ को नामकरण भएदेखि पहिचानवादीहरु आन्दोलनमा भएको कुरा विदितै छ, कोशी नामकरण सङ्घर्ष समितिको आह्वानमा हिजो वैशाख २६ गते झापा दमकमा शान्तिपूर्ण राँके जुलुस भएको थियो, शान्तिपूर्ण राँके जुलुसमाथि अनावश्यक अवरोध र हस्तक्षेप गर्दा झडप भएको छ, मानिसहरु घाइते भएको छन्” उनले भनिन्।
सांसद श्रेष्ठले आन्दोलनका क्रममा १९ राउन्ड अश्रुग्यास, पाँच राउन्ड डोमिफायर र पाँच राउन्ड रबरबुलेट फायर हुँदा आन्दोलनकारी घाइते भएका बताएकी हुन्।
घाइते हुने निर्मला बराल र गजेन्द्र फागु लिम्बू छन्। गजेन्द्र फागु लिम्बूको देब्रे खुट्टामा गोली लागेको छ। उाीहरुको दमकमा उपचार भइरहेको छ।
आन्दोलनमा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन्।
आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर र प्रस्तावबाहेक) माथि छलफल हुने कार्यतालिका छ अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।