खलंगा- दार्चुलाको व्यास गाउँपालिका-१ मा १९ वैशाखमा गएको हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।
पहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका-२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति डीएसपी ईश्वरीदत्त भट्टले जानकारी दिए। यसअघि बेपत्ता पाँचमध्ये तीन जनाको शव फेला परिसकेको छ। अझै एकजना बेपत्ता छन्। प्रहरीले उनको खोजी जारी राखेको छ।
हिमपहिरोमा परी बेपत्ता दार्चुलाको दुहँ गाउँपालिका-४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिका-२ की १५ वर्षीया क्षिमिसोमो थापाको शव फेला परेको थियो। डोटीको जोरायल-२ की ४५ वर्षीया नक्की डोमा थापा अझै बेपत्ता छिन्।
पाँचै जना यार्सागुम्बा संकलनका लागि सो क्षेत्रमा गएका थिए। दार्चुला तथा अन्य जिल्लाबाट यार्सागुम्बा संकलनका लागि बर्सेनि सर्वसाधारण यहाँ आउने गरेका छन्।