काठमाडौं- प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौं रकम ठगीमा संलग्न रहेका आरोपितको खोजी तीव्र पारेको छ।
पक्राउ पुर्जी जारी भएका आरोपित सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण संकलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपितको खोजीमा प्रहरी टोली जुटेको परिसरका एसपी सीताराम रिजालले बताए।
पुर्जी जारी भएका एमालेका केन्द्रीय सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको उनले बताए। यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन।
‘अब १० देखि ११ जना आरोपितको खोजी तथा अनुसन्धान भइरहेको छ,’ एसपी रिजालले भने, ‘अहिलेसम्म आठजना पक्राउ गरी अनुसन्धान भइरहेको छ।’ हालसम्म तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसरले उनीहरू विरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ। उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिएका छन्। उनीहरूले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन्। शुरुमा पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारवाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो।