खाँदबारी- जिल्ला विपत व्यवस्थापन समितिले संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दास्थित पहिरो खसेर बनेको तालको स्थलगत अनुगमन गरेको छ।
निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको बाँध निर्माण स्थलमा गत आइतबार पहिरो खसेपछि झण्डै ३ किलोमिटर लामो ताल बनेको छ। अरुणमा पानीको बहाव बढेको र तालको पानी नघटेपछि जोखिम बढेको गुनासो स्थानीय बासिन्दाले गरेपछि विपत व्यवस्थापन समितिले अनुगमन गरेको हो।

अरुण तेस्रो आयोजनाले नदीमा २६ मिटर अग्लो अस्थायी बाँध बनाएर खोला फर्काएको थियो। अरुण थुनिएपछि आयोजनाको ड्यामसाइडको काम पनि ठप्प भएको छ। अझै पनि सुक्खा पहिरो ५० मिटरमाथिबाट लगातार खसिरहेको प्रहरीले जनाएको छ। टोलीमा सेनाका पूर्वी पृतनापति उपरथी आशबहादुर तामाड र हिलेस्थित २ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी महेशकुमार थापाको पनि सहभागिता थियो।
बाँध निर्माण स्थलमा भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स लिमिटेडले बाँध निर्माण गरिरहेको छ। कम्पनीका म्यानेजिङ डाइरेक्टर एवं निर्देशकले पहिरोले डाइभर्सनमा क्षति पुगेपछि ड्याममा कायरत इन्जिनियरहरू र कर्मचारीहरूसँग संक्षिप्त बैठक बसी नआत्तिन र समयमै ड्याम निर्माण सम्पन्न गर्न हौसलासहित निर्देशनसमेत दिइएको छ।


