ढोरपाटन– तमानखोला गाउँपालिका–५ थास्पुरी गाउँ अग्लो पहाडको बीचमा छ। प्रशस्त खेतीयोग्य जमिनले भरिएको यस गाउँमा वर्षौंदेखि खानेपानीको समस्या छ। स्थानीयवासीले घन्टौँ लगाएर एक गाग्री पानी भरेर उपभोग गर्दै आएका छन्। विद्यालय र सामुदायिक स्वास्थ्य परामर्श केन्द्रमा पनि खानेपानीको समस्या उस्तै छ। खानेपानीको समस्या समाधानका लागि अहिले गाउँका घरघरमा धारा निर्माण भइसकेका छन्। गाउँका तीन ठाउँमा हजारौँ लिटर पानी अटाउने ट्याङकीसमेत निर्माण भइसकेका छन्।
घरघरमा बनेका धारामा यही वैशाखको अन्तिम सातासम्म पानी झार्ने योजना छ। घरैपिच्छे धारा बनेपछि स्थानीय दङ्ग परेका छन्। तमानखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सहलगानीमा यहाँ खानेपानी आयोजना सञ्चालन भइरहेको छ। गाउँपालिकाको १७ लाख ४६ हजार र नेवाको ३८ लाख गरी रु ५५ लाख ४६ हजार लागतमा काम थालिएको थियो। विसं २०७९ पुस १६ गतेदेखि सुरु भएको योजना अहिलेसम्म ९० प्रतिशत काम सकिएको सब इन्जिनियर भीम नेपालीले जानकारी दिए ।
थास्पुरी खानेपानी तथा सरसफाइ आयोजनाको काम यही महिनामै सकिने भन्दै बेमौसमी वर्षाले गर्दा अवरोध पु¥याइरहेको उनको भनाइ छ। खानेपानी आयोजनाको पाइलाइन, धारा र ट्याङ्की निर्माणको कार्य सकिएको भन्दै अब मिटर जडान गर्न बाँकी रहेको उनले बताए। थास्पुरी गाउँमा तीन किलोमिटर टाढा रहेको सेपुबारी मुहानबाट पाइपलाइनमार्फत पानी ल्याउन थालिएको हो।
सबइन्जिनियर नेपालीले भने, ‘धेरै काम सम्पन्न भइसकेको छ, अब केही प्राविधिक काम मात्रै बाँकी छ, त्यो काम पनि छिट्टै सकेर स्थानीयवासीका घरका धारामा पानी ल्याउने तयारी गरेका छौँ, धेरै दिन भयो पानी परेको, अहिलेसम्म रोकिएको छैन, पानी रोकिँदा साथ काम सकेर पानी ल्याउँछौँ, धारा बनेपछि स्थानीय धेरै उत्साहित बन्नुभएको छ, अब उहाँहरुको वर्षौंदेखिको समस्या समाधान हुन्छ।’
अहिले गाउँका ८२ घरमा ८२ धारा, प्राथमिक स्वास्थ्य परामर्श केन्द्र, विद्यालय र आमा समूहको भवनमा एक÷एक गरी ८५ धारा निर्माण भएका छन्। स्थानीय झउमती सुन्चौरीले गाउँमा खानेपानीको समस्या हुन थालेको वर्षौं भएको जनाउँदै अब सहज हुने बताइन्। अहिलेसम्म गाउँलेले एक घन्टाको दूरीमा रहेको ठूलाचौरदेखि पानी बोकेर उपभोग गर्दै आएको सुन्चौरीको भनाइ छ। उनले खानेपानीको हाहाकार हुँदा कुवा र पोखरीको पानी कपडाले छानेरसमेत उपभोग गरेको बताइन्।
‘यो गाउँमा खानेपानीको अभाव भएको धेरै वर्ष भयो, पहिले १÷२ घन्टाको बाटो हिँडेर पानी ल्याएर खायौँ, पछि गाउँमा केही धारा बने, एउटा धाराबाट १५÷२० घरले पानी भर्नु पथ्र्यो,’उनले भनिन्, ‘अब त सजिलो हुने भयो, घरकै आँगनमा धारो बन्यो, हामीहरुले सोचेका पनि थिएनौँ, घर–घरमा धारो बन्ला भन्ने, दुर्गममा छौँ, सरकारले हाम्रो समस्या बुझेछ, खानेपानीको समस्या हुँदा गाउँबाट धेरै मान्छे बजारतिर बसाइँ पनि सरे।’
थास्पुरी खानेपानी तथा सरसफाइ आयोजनाका सचिव जयप्रकाश सुन्चौरीले वैशाखमै यहाँका स्थानीयवासीले यस आयोजनाको पानी उपभोग गर्न पाउने बताए। खानेपानीको समस्या हुँदा सरसफाइमा बढी समस्या भएको बताउँछन्। गाउँमा थुप्रै खेतीयोग्यो जमिन भए पनि पानीको अभावले गर्दा तरकारी र खाद्यबाली उत्पादनमा पछाडि पर्नु परेको उनको भनाइ छ।
उनि भन्छन्, ‘यस गाउँका सयौँ नागरिक धेरै वर्षदेखि खानेपानीको अभावमा छन्, अब करिब–करिब हामीहरुको समस्या समाधान हुनै लागिसक्यो, खानेपानीको माग गरेको धेरै वर्षपछि अहिले बल्ल यस गाउँका मान्छेहरुको समस्याको सुनुवाइ भयो, दिसामुक्त गाउँ घोषणा भएको धेरै वर्ष भए पनि पानीको समस्या हुँदा प्रभावकारी हुन सकेको थिएन।’
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले थास्पुरीसँग पालिकाका धेरै गाउँमा खानेपानीको समस्या समाधान हुन थालेको बताए। उनले आफूहरु निर्वाचित भएर आएदेखि जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको बताए। यहाँको नागरिकको मुख्य समस्या खानेपानी भएको हुँदा अघिल्लो कार्यकालदेखि नै समाधान गर्नेतर्फ आफूहरु लागेको भन्दै अहिले बल्ल पूरा हुन थालेको अध्यक्ष बुढा मगरको भनाइ छ।
‘तमानखोलाका अधिकांश गाउँमा अहिले खानेपानीको सहज पहुँच पुगेको छ, केही वडामा गाउँपालिकाको लगानीमा त केही गाउँमा विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर खानेपानी आयोजना सम्पन्न भएका छन्, अध्यक्ष बुढा मगरले भने, ‘अहिले पनि वडा नं २ मा पनि नेवासँग सहकार्य गरेर काम गरिरहेका छौँ, अब तमानखोलामा खानेपानीको समस्या छैन, मर्मत, सम्भार र अन्य काम भने निरन्तर हुने छ, पहिलो कार्यकालमा वडा नं ६ को नर्जाखानी, भित्रीवन र पात्ले गाउँमा एक घर एक धारा निर्माण गरेका छौँ, अहिले त्यहाँ समस्या छैन।’
उनले खानेपानीसँगै स्वास्थ्य र शिक्षालाई पनि प्राथमिकतामा राखेर काम गरेको बताए। नागरिकको सहजताका लागि बस्तीबस्तीमा स्वास्थ्य संस्था स्थापना गरेर सेवा प्रदान गरेको अध्यक्ष बुढा मगरको भनाइ छ। पछिल्लो समय तमानखोलाका शैक्षिक संस्थाहरु भौतिक पूर्वाधारमा अब्बल बन्दै गएको उनले बताए।
Advertisement