काठमाडौं- युद्धग्रस्त मुलुक सुडानबाट १३ जना नेपालीलाई बिहीबार स्वदेश फर्काइएको छ।
इजिप्टको कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा उनीहरूलाई स्वदेश फर्काइएको हो। दूतावासको सम्पर्कमा आएका ३१ मध्ये १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा ल्याइएको थियो। तीमध्ये १३ जना बिहीबार काठमाडौं उत्रिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बाँकी ६ जना यूएईको दुबइस्थित रोजगारदाता कम्पनीको शाखामा स्थानान्तरण भएका छन्। चिनियाँ कम्पनीमा कार्यरत एकजना नेपालीलाई चीन सरकारको सहयोगमा यसअघि नै उद्धार गरिएको थियो।
अन्य १२ जनामध्ये ९ जना भारत सरकारको सहयोगमा बिहीबार पोर्ट सुडानबाट हवाईमार्ग हुँदै भारतको अहमदावाद आइपुगेका छन्। स्वेच्छाले सुडानमै रहेका तीनमध्ये रोजगारदाता कम्पनीको प्रबन्धमा एकजना पोर्ट सुडानमा र दुईजना सुडान-इजिप्टको सीमानजिक सुरक्षित छन्। तीनैजना नेपाली नागरिक कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा छन्।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरूलाई यसअघि नै सुरक्षित स्थानमा लगिएको छ। सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धारमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरूले समन्वय र सहजीकरण गरिरहेका छन्।