काठमाडाैं- नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका समस्यालाई निरुपण गर्दै यस क्षेत्रको विकासमा दिनरात मेहनत गर्ने बताएका छन्।
आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले खेलकुद क्षेत्रमा भएका अभावलाई अध्ययन गरेर अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च बनाउने गरी काम गर्ने बताए।
मन्त्री लिम्बूले क्रिकेट खेलमात्र नभई अन्य खेलले पनि नेपाललाई चिनाउन सक्छन् भन्नका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने बताए।
खेल क्षेत्रमा आबद्ध सबैले सकारात्मक सोच बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो।
मन्त्री लिम्बूले क्रिकेट खेलले ऐतिहासिक सफलता पाएको भन्दै यस खेलका लागि चाहिने आवश्यक भौतिक पूर्वधारको विकासमा कुनै कसर बाँकी नराख्ने बताए।
यही वैशाख १९ गते नेपालले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै उपाधि जितेको थियो।