काठमाडौं- आगामी २४ घण्टामा तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले बिहान ६ बजे मौसम अलर्ट जारी गर्दै विभागले खासगरी कोशी, मधेश र वागमती प्रदेशमा वर्षाको सम्भावना औंल्याएको हो। अन्य प्रदेशका पहाडी भूभागमा पनि सोही प्रकृतिको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
हल्कादेखि मध्यम वर्षाका कारण सडक र हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने विभागको आकलन छ। खासगरी, मेघ गर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु आवश्यक देखिएको विभागले जनाएको छ।
अहिले बिहान देशभर सामान्य बदली छ। कर्णाली प्रदेशका १-२ स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभरको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी, मधेश र वागमती प्रदेशलगायत देशका पहाडी भेगका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभरको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। पहाडका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।