काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज देशभर हल्का तथा क्षणिक वर्षाको प्रक्षेपण गरेको छ।
विभागका अनुसार खासगरी सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। अन्य प्रदेशमा पनि प्रि-मनसुनी वर्षा हुन सक्ने सम्भावना छ।
वर्षाका कारण सडक र हवाई यातायात तथा कृषि, पर्यटन, खेलकुदलगायत क्षेत्रहरू प्रभावित हुन सक्ने विभागले औंल्याएको छ। खासगरी, मेघ गर्जन र चट्याङका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सावधानीका लागि विभागले आग्रह गरेको छ।
अहिले बिहा देशभर आंशिकदेखि सामान्य बदली छ। सुदूरपश्चिमका थोरै र अन्य प्रदेशका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र कोशीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै र देशका बाँकी भूभागका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।