नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शशाङ्क कोइरालाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नाम नवलपुर नामकरण हुनुपर्ने बताएका छन्।
सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस जिल्लाको नाम नवलपुर नामकरण हुनुपर्ने बताएका हुन्।
“देश सङ्घीयतामा गएको छ वर्ष भइसकेको छ, यस जिल्लाको नाम अझै नामकरण हुनसकेको छैन”, प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै कोइरालाले भने “यस जिल्लाको नामकरण पनि अब गर्नुपर्छ, नवलपुर जिल्ला भनेर नामाकरण गर्नुपर्छ सम्माननीय प्रधानमन्त्री ज्यू।”
भारतसँग नाका जोडिएको गण्डकी प्रदेशकै एकमात्रै भन्सार त्रिवणी भन्सार पनि यहीँ पर्ने जनाउँदै उनले यसको समेत स्तरोन्नति गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
गैँडाकोटमा अन्तर्राष्ट्रिय खेलमैदानका लागि जग्गा प्राप्ति भइसकेको र त्यसका लागि बजेट पार्नुपर्ने पनि उनले बताए।
त्यसैगरी बुटवलदेखि नारायणगढसम्मको दूरीमा तीव्र गतिमा सवारीसाधन गुड्ने र यस क्षेत्रमा ट्रमा सेन्टर नभएकाले चाँडो ट्रमा सेन्टर निर्माण गर्नुपर्नेमा कोइरालाले जोड दिए।