काठमाडौं- काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते भाँडा व्यवसायी नीरा पाण्डे आचार्यको हत्याकाे अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ।
सरस्वतीनगर बस्ने बाग्लुङ बडिगार्ड गाउँपालिका-५ घर भएकी ३५ वर्षीया निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको अभियोगमा झापा मेचीनगरका ३५ वर्षीय बिनोद विश्वकर्मालाई शनिबार राति प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेकाे हाे।
पसलमा ग्राहक बनेर आएका बिनोदले आचार्यको शरीरको विभिन्न भागहरूमा धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।
आज पत्रकार सम्मेलन गरी प्रहरीले हालसम्मको अनुसन्धानबारे जानकारी दिएको हो। बिनोदले बाहिरबाट कुनै हतियार नलगेका र पसलमै रहेको चक्कुले प्रहार गरेका प्रहरीले जानकारी दिएकाे छ।
हत्यापछि उनी पसलमै लुगा फेरेर निस्किएको र टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ।
उनी झापाबाट हत्याकै नियतले भने नआएको र मृतक र उनको परिवारसँग बिनोदको कुनै सम्बन्ध र चिनजान नदेखिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसएसपी दिनेश आचार्यले बताए।