सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकी छन्।
दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएको बताइन्।
“पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता कटौती गर्दैछ भनेर पनि प्रचार गरिएको छ यो सरासर गलत हो । यो बारेमा अहिलेको सरकारले कुनै निर्णय लिएकाे छैन। सरकारलाई बदनाम गराउनेले ज्येष्ठ नागरिक भत्ता कटौती गर्दैछ भनेर हल्ला फिजाइ रहेको छन्।“ उनले भनिन्।
मन्त्री शर्माले सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनता सामू लैजान र जनताका समस्या सरकारसम्म ल्याउन आग्रह गरिन्। सरकार खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पुर्याउन प्रतिबद्ध रहेको बताइन्।
उनले मिटरब्याजी पीडितका समस्या सधैँका लागि अन्त्य गर्नका लागि कानुन निर्माण गरी हल गर्ने प्रक्रियामा सरकार रहेको जानकारी दिइन्।