बराहक्षेत्र- नेपालको पावन भूमि मिथिला नगरी जनकपुरधाममा प्रकट भई नेपाल र नेपालीलाई गौरव प्रदान गरेकी भगवान रामचन्द्रकी अल्हादिनी शक्ति सीताको प्राकट्य दिवसमा सुनसरी बराहक्षेत्रमा विशेष उत्सव आयोजना भएको छ।
श्रीजानकी नवमीको अवसरमा जगद्गुरू रामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) बराहक्षेत्र चतरा धाममा भव्य कार्यक्रमको आयोजना भएको हो।
सो अवसरमा यसपटक पीठले थप विशेष कार्यक्रम आयोजना गरी उत्सव मनाएको हो। नेपाल र नेपालीको गौरवको केन्द्रविन्दु रहेकी जानकीको प्राकट्य उत्सवको अवसरमा ५६ भोग लगाउनुका साथै विशेष भण्डाराको आयोजना भएको थियो। साथै, ठीक मध्याह्नमा श्रीजानकी माताको महाआरती स्वयं श्रीराम तारकब्रह्म पीठाधिश्वर अनन्तश्री विभूषित जगद्गुरू श्रीरामानन्दाचार्यको स्वरुपमा प्रतिष्ठित स्वामी श्रीरामकृष्णाचार्यको नामबाट विख्यात यतिन्द्र महायोगी सिद्धबाबाको करकमलबाट भएको थियो।
कार्यक्रममा श्रीकिशोरीजी एवं स्वामीजीको आशिर्वाद प्राप्ती हेतु स्वदेश एवं विदेशबाट साधक तथा भक्तजनहरू, विशिष्ट राजनीतिक, सामाजिक, धार्मिक एवं बौद्धिक व्यक्तित्वहरूको उपस्थिति थियो। बराहक्षेत्र चतराबाट उल्लेख्य रूपमा स्थानीय श्रद्धालु भक्तजनहरू उपस्थित थिए।
कार्यक्रममा त्रिदण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबाले माता जानकीको परिचय दिनुका साथै श्री जी अर्थात सीताजीको महत्त्व पनि दर्शाएका थिए। नेपाल र नेपालीको गौरव आद्य जगज्जननी जानकी माताको प्राकट्य उत्सव राष्ट्रव्यापी रूपमा नमनाइनु दुर्भाग्य भएको उनले बताए।