काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन साहले सरकारलाई कानुन बमोजिमको शासन व्यवस्था अँगाल्न अन्यथा कानुन परिवर्तन गर्न चुनौती दिएका छन्।
सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले २०७६ साउन २० गते सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र तिनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश दिएको समेत स्मरण गराउँदै यस्ताे चुनाैती दिएका हुन्।
उनले लेखेका छन् ‘यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस्।
यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यु? कसरी कानुनीराज्यको अनुभुती दिलाउनु हुन्छ गृहमन्त्री ज्यु?’
नदि किनाराको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरु हटाउन पटकपटक प्रयास गर्दापनि सरकारबाट कुनै साथ नपाएपछि उनी सरकारसँग रुष्ट देखिन थालेका छन्।