काँकडभिट्टा- झापाको मेचीनगर-१० धुलाबारीमा प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ।
दनुवार जागरण समिति मेचीनगरले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। दनुवार नेपालको सीमान्तकृत जातीय समुदाय हो।
समितिका जिल्ला अध्यक्ष श्याम दनुवारले १६ वैशाखमा धुलाबारीको पुरानो पशुहाटमा एक दिवसीय महोत्सव गरिने जानकारी दिए। उनका अनुसार महोत्सवमा दनुवारको जातीय पहिरन, कला, संस्कृति, भेषभूषा, खाना, गहनाको प्रदर्शनी हुने र दनुवार समुदायका ज्येष्ठ नागरिकको सम्मान गरिने छ।
समितिका मेचीनगर अध्यक्ष मोहन दनुवारले महोत्सवमा जिल्लाभरबाट पाँच सयभन्दा बढी दनुवार समुदायको सहभागिता रहने बताए। मुलुकका १९ जिल्लामा दनुवार समुदायको बसोबास छ। सिन्धुली तथा उदयपुरमा सबैभन्दा बढी संख्यामा दनुवार समूदायको बसोबास रहेको समितिका केन्द्रीय सल्लाहकार अग्निमाया मेचे दनुवारले बताइन्।
महोत्सवका लागि तीन लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान छ। मेचीनगरमा मात्र एक हजार २०० घर दनुवार समुदाय बस्छन्।