काठमाडौं- १७औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। ११ वैशाख ०६३ मा तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम ८ जेठ ०५९ विघटन भएको संसद् पुनःस्थापना गरेका थिए। जनताको विजय भएको खुशियालीमा ०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।
असोज ०५९ मा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृंखला चल्यो। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे। १९ माघ ०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो।
मंसिर ०६२ मा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजित राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो। फागुन ०६२ देखि पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो।
नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए। चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले ११ वैशाख राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। त्यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जग स्थापित बन्यो।
४ जेठ ०६३ को संसद् बैठकले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ। यसैको जगमा २८ चैत ०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको १५ जेठ ०६५ मा सम्पन्न पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो। पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो।
४ मंसिर ०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले ३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ। जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन्। यो परिवर्तनको प्रवेशद्वार भएकाले ११ वैशाखलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ।