काठमाडौं – चीनसँग जोडिएको किमाथाङ्का नाका चाँडो सञ्चालन गर्न परराष्ट्रमन्त्री समक्ष आग्रह गरिएको छ ।
नेपाली कांग्रेस सङ्खुवासभाका सभापति एवम् प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई भेटेर किमाथाङ्का नाका चाँडो सञ्चालनका लागि उच्चस्तरिय कूटनीतिक पहल गर्न आग्रह गरेको हो ।
भेटमा सांसद खड्काले कोरोना महामारीबाट रोकिएको किमाथाङ्का नाकालाई दोहोर रुपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि सरकारले उच्चस्तरिय कूटनीतिक पहल गर्न आग्रह गरेका हुन् ।
“सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथाङ्का पुग्न झण्डै सात दिन लाग्छ, बर्खाको समयमा खाद्यान्न लैजानसमेत समस्या हुन्छ, चीनबाट खाद्यान्न ल्याएर जीवननिर्वाह गर्नुपर्ने भएकाले त्यहाँका जनतालाई भोकमरी लाग्ने अवस्था सिर्जना नहोस् भन्नका लागि तत्काल नाका सञ्चालनका लागि आग्रह गर्दछु”, सांसद खड्काले भने ।
पूर्व राज्यमन्त्रीसमेत भइसकेका सांसद खड्काले किमाथाङ्का नाका सञ्चालनमा आएमा कोशी प्रदेशले नै लाभ लिनसक्ने भएकाले यसलाई विशेष चासो दिनुपर्ने बताए । सङ्खुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले किमाथाङ्का नाका सञ्चालन नहुँदा छ हजार जनसङ्ख्या रहेको भोटखोला गाउँपालिकाका जनताले सास्ती खेप्नुपरेको बताए ।
भेटमा परराष्ट्रमन्त्री साउदले सरकारले सङ्खुवासभाको किमाथाङ्का नाका सञ्चालन गर्न उच्च प्राथमिकता दिएको बताए । उनले दुईपक्षीय व्यापार सम्बन्धमा समेत यो नाकाले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै उक्त नाका चाँडो सञ्चालन गर्न आवश्यक पहल भइरहेको स्पष्ट पारे ।