नयाँदिल्ली- ककपिटमा गर्लफ्रेन्ड राखेका एयर इन्डियाका एक पाइलटमाथि नियामक निकायले छानविन थालेको छ।
Advertisement
भारतीय नागरिक उड्डयन महानिर्देशनालयले ती पाइलटमाथि छानविन थालेको हो। ती पाइलटले उडान अवधिभर आफ्नी गर्लफ्रेन्डलाई ककपिटमै राखेका थिए।
गत २७ फेब्रुअरीमा दुबईबाट दिल्ली आउँदै गरेको उडानमा इकोनोमी क्लासमा यात्रा गरिरहेकी गर्लफ्रेन्डलाई विमानका फ्लाइट कमान्डरले ककपिटमा बोलाएर त्यहीं राखेका थिए। उक्त विमानमा रहेका पाइलट, को–पाइलट, क्याबिन क्रु र ती महिलालाई बोलाएर महानिर्देशनालयले शुक्रबार बयान लिएको छ।
यसअघि उक्त उडानमा रहेका एक क्याबिन क्रु मेम्बरले एयर इन्डियाका सीईओ र फ्लाइट सेफ्टीलाई लिखित उजुरी दिएका थिए। उडान सुरक्षालाई दृष्टिगत गर्दै कुनै यात्रीलाई ककपिटमा नराख्न आग्रह गर्दा आफूमाथि पाइलटले दुर्व्यवहार गरेको ती सदस्यको लिखित उजुरीमा उल्लेख छ।