काठमाडौं- नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनवेशी नगरपालिकाले काठमाडौंको फोहोर फाल्न नदिने चेतावनी दिएको छ।
ककनीका अध्यक्ष सुमन लामा र धुनवेशीका मेयर बालकृष्ण आचार्यले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै फोहोर फाल्न नदिने चेतावनी दिएका हुन्।
उनीहरूले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएका हुन्। सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् ।
वर्गीकरण गरेर मात्रै फोहोर व्यवस्थापन गर्नु पर्ने, फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने, रातिको लागि आवश्यक बत्ती तथा सडकको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका विषयमा गत २३ जेठ, २०७९ मा सम्झौता भएको थियो ।
वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोलि गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुँदे माग उनीहरुले अघि सारेका छन् ।
