काठमाडौं- कतारकी राजकुमारी शिखा आस्मा अलथानीले शनिबार अन्नपूर्ण हिमालको शिखर चुमेकी छन्।
Advertisement
उनी नेपाली पर्वतारोही निर्मल पुर्जासँगै शिखरमा पुगेकी हुन्। अन्नपूर्ण विश्वको दशौं अग्लो हिमाल हो।
अन्नपूर्णको शिखर चुम्ने उनी पहिलो कतारी महिला हुन्। एलाइट एक्सपिडिसनका निर्देशक मिङमा डेभिड शेर्पाका अनुसार शनिबार अपराह्न करिब ४ बजे उनी शिखरमा पुगेकी थिइन्।
नेपाली पर्वतारोही पुर्जा भने पुरक अक्सिजनको मद्दतविनै शिखरमा पुगेका छन्। अलथानीले यसअघि सगरमाथा, माउन्ट केटु र ल्होत्सेको सफल आरोहण गरिसकेकी छन्। ती हिमाल आरोहण गर्ने उनी पहिलो कतारी महिला हुन्।
यस्तै, कञ्चनजंघा र मनास्लु हिमाल आरोहण गर्ने उनी खाडी मुलुककै पहिलो महिला पनि हुन्। उनले ८ हजार मिटरमाथिका १४ हिमालमध्ये ७ वटाको सफल आरोहण गरिसकेकी छन्।