काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् ।
प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उनले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताए ।
“राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “चरित्रवान, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रुपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौँ ।” उनले नेतृत्वको चरित्र निर्माणका लागि बौद्धशिक्षा महत्त्वपूर्ण हुने बताए ।
विक्रम संवत् १९९१ मा ललितपुरमा जन्मिएकी भिक्षुणी धम्मवतीको रुपमा बौद्धज्ञान बाड्दै आएकी छन् । धम्मवती गुरुमाले नेपालमा बौद्ध शिक्षाबारे सबैलाई जानकार गराउनुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा धर्मकीर्ति विहार संरक्षण कोषले ‘धम्मवती धम्म प्रशिक्षण परियोजना’को धोषणा गरेको छ ।