काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिएका छन् ।
पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सम्बन्धलाई थप विस्तार र व्यवस्थित गर्नुपर्ने बताए ।
उनले भने, “सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजबाट भेटघाटको सुरुआत भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यान्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।”
उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए । उनले भने, “अब जनता र कार्यकर्तातिर फर्केर मात्र पार्टी बन्छ । पार्टी हामी सबै मिलेर बनाउनु नै छ । पार्टी बनाउने राजनीति, विचार र संस्कृतिमा गयौँ भने पार्टी बन्न ढिलो पनि हुन्न ।”
प्रधानमन्त्री दाहालले जतिसुकै चुनौती भए पनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्नेमा आफूहरुले सङ्कल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
उनले सरकारको नेतृत्व लिएपछि पनि धेरै काम गर्न प्रयास भएको भन्दै केही प्रयास सफल भएको बताए । पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइँमा उठाउन जरुरी रहेको उनको भनाइ छ । सरकारलाई जनताको आशा अपेक्षाअनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौती र जिम्मेवारी आफ्नो काँधमा आएको उनले बताए ।