मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको एक कार्यक्रममा उनले बैंकले तरलताको अभाव देखाएर वृद्धि गरिएको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अवस्था आएको बताए ।
मुख्यमन्त्री कार्कीले साना उद्यमीले जग्गा उपलब्ध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डारगृहको निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले साना उद्योगले बजारीकरणका लागि आफ्नो उत्पादन गणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै बलियो प्याकेजिङका लागि आवश्यक पर्ने औजारलगायतका सामग्री सरकारले उपलब्ध गराउने बताए ।
उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले दीर्घकालीन कृषि नीति ल्याउन विज्ञसँग छलफल गरी आवश्यक सुझाव सङ्कलन गरेको बताउँदै कृषिउपज आयात नियमन गरी विषादीलगायत आवश्यक जाँचकोे लागि क्वारेण्टाइन कार्यालय थप गर्नुपर्नेमा जोड दिए ।