काठमाडौं– प्रमुख दलहरुबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।
आज बिहान बालुवाटारमा सभामुख निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो ।
बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल हुनेछ । अर्को बैठक आउँदो वैशाख १ गते सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसी विधेयकको कन्टेन्ट र प्रक्रियाबारे छलफल गर्न सकिने तर यसलाई छिटै टुङ्ग्याउनुपर्ने बताएका थिए ।
यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि न्यायपूर्ण र सबै पक्षले स्वीकार्य हुने गरी अघि बढ्नुपर्ने भन्दै आफूहरू टीआरसी विधेयकलाई चाडै टुङ्ग्याउने पक्षमै रहेको बताएको थियो । यस अघिको बैठकमा सत्तारूढ दलले टीआरसी विधेयक संसदीय समितिमा नपठाइ फास्ट ट्रयाकबाट पारित गर्न चाहेको बताएका थिए भने एमालेले समितिमा छलफल गरेर मात्रै सहमति जुटाउनुपर्ने अडान राखेको थियो ।
संसदीय समितिमा नपठाइ टुङ्ग्याउनुपर्ने सत्तारूढ दलको प्रस्तावमा प्रमुख विपक्षी एमालेले असहमति जनाएपछि आज फेरि छलफल भएको हो ।