ठूल-ठूला गाडी गाउँका
कुना कान्लामा दौडेको देखेर
बल्ल विश्वास भो
सिंहदरबार गाउँमा पुगेको छ
ठेक्कापट्टामा मोलमोलाइ र
आज बनायो भोलि भत्कने बाटो देखेर
बल्ल विश्वास भो
सिंहदरबार गाउँमा पुगेको छ
गाउँले नेताहरूको गाली गलौज
पानी बाराबारको अवस्था हेर्दा
बल्ल विश्वास भो
सिंहदरबार गाउँमा पुगेको छ
कर्मचारी काम नगरी
इन्टरनेटमा खेलेर बसेको देख्दा
बल्ल विश्वास भो
सिंहदरबार गाउँमा पुगेको छ
हाम्रा नेताले गाउँपालिकाको पैसाले
काठमाडौंमा घर किन्दा
बल्ल विश्वास भो
सिंहदरबार गाउँमा पुगेको छ
वडाको कारिन्दो आफ्नै नातिले
बडका भलमन्सासँग पैसा माग्दा
बल्ल विश्वास भो
सिंहदरबार गाउँमा पुगेको छ
गाउँघरका गल्लीमा
लुटपाट, ढाँट, फटाईं देखेपछि
बल्ल विश्वास भो
सिंहदरबार गाउँमा पुगेको छ
गाउँका बजार भट्टीमा
ट्रकमा बियर, भोडका आउन थालेपछि
बल्ल विश्वास भो
सिंहदरबार गाउँमा पुगेको छ
गाउँघरका झुपडी खेत खलिहानमा
अपराधको ग्राफ बढेको देख्दा
बल्ल विश्वास भो
सिंहदरबार गाउँमा पुगेको छ
यदि यही हो गाउँघरमा
पुगेको सिंहदरबार भने
यस्ता सिंहदरबार हाम्रो गाउँमा
नआएकै राम्रो