काठमाडौं- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।
आज नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरूले पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै ज्ञापनपत्र उनलाई बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै उनले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका हुन् ।
उनीहरूले प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्नु पर्ने माग गरिएको छ।
गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो। तत्कालीन एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ ।