काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज बिहीबार पनि चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ।
अहिले बिहान ६ बजे मौसम अलर्ट जारी गर्दै विभागले यस्तो आग्रह गरेको हो। ‘कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी इलाकामा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेकाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ विभागले भनेको छ।
पश्चिमी र स्थानीय वायुबीच घर्षण पैदा हुँदा अहिलेको प्रि-मनसुनको समयमा चट्याङको जोखिम रहने गर्छ। अहिले बिहान पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मौसम सफा विभागले जनाएको छ।
आज दिउँसो कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सफा रहने छ। कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना पनि छ।
आज राति पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागको प्रक्षेपण छ।