काठमाडौं- भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायांकन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम् र अलीले पनि अभिनय गरेका छन्।
ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अली राजस्थानी ‘लुक्स’मा देखिएका छन्। भारतको तमिल र तेलुगु सिनेमामार्फत नेपालमा समेत यी दुईको प्रशंसक राम्रै छन्। सँगै रहेका अभिनेता रवीन्द्र झा पण्डितको वेशभूषामा प्रस्तुत छन्।
अभिनेत्री नीता ढुंगाना निर्मात्री रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका छन्। ‘१२ दिनसम्म रामोजी स्टुडियोमै छायांकन हुनेछ। त्यसपछि आग्रास्थित ताजमहल र नेपालमा छायांकन गर्ने तयारी गरेका छौं,’ निर्मात्री ढुंगानाले भनिन्। उनका अनुसार युवापुस्ताको प्रेमलाई विम्ब बनाएर कथा तयार गरिएको सिनेमामा नेपाली कलाकार सरोज खनाल, विपना थापा, हरिहर अधिकारी, आयुश मिश्रालगायतको अभिनय रहने छ।