काठमाडौँ –रोस्टिङ टेलिभिजन शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन सुरु हुने भएको छ । उक्त सो विक्की अग्रवाल र श्रद्धा प्रसाईंले सुरु गर्ने भएका छन् ।
पहिलो सिजन सकिएपछि इन्गेजमेन्ट समेत गरेको यो जोडीले शोको दोस्रो सिजनको तयारी थालेको छ ।
निर्देशक समेत रहेकी श्रद्धाले आगामी मार्चदेखि सिजन सुरु हुने बताइन् । ‘दोस्रो सिजन कहिले आउँछ भन्ने प्रश्न धेरै आए । हामी अहिले यसकै तयारीमा छौं,’ उनले भनिन्, ‘आन्तरिक काम भइरहेको छ, मार्चबाट छायांकन सुरु हुन्छ ।
शोका कन्सेप्ट क्रिएटर, सेट डिजाइनर तथा होस्ट अग्रवालले पनि दोस्रो सिजनलाई लिएर आफूहरु उत्साहित रहेको बताए । पहिलो सिजनलाई दर्शकले दिएको मायाका कारण दोस्रो सिजन ल्याउन लागेको उनले बताए । ‘हामीले नेपालका लागि नै पहिलो रोस्ट शो सुरु गरेका थियौं । राम्रो प्रतिक्रिया पाएका थियौं । रोस्ट शो भएकाले दर्शक र शोमा उपस्थित हुने गेस्टले पनि नयाँ अनुभूति गर्न पाउनुभयो । दोस्रो सिजनमा पनि थप रोचक हुने, विक्कीले बताए ।
प्रमोद अर्यालको छायांकन निर्देशन रहने यो शोलाई माधव बेल्वासेले सम्पादन गर्नेछन् । साथै शोको अडियो डिजाइनरमा देव न्यौपानेले गर्ने छन् । डिजिटल पार्टनर ओएसआर डिजिटल छ । शोमा सुशान्त बस्याल र विकास अग्रवालले स्क्रिप्ट लेख्नेछन् ।
शोमा पहिलो सिजनमा फिचर्ड भएकी विना त्रिपाठी (डिजे माया) लाई फरक ढंगबाट प्रस्तुत गरिने भन्दै यसपटक केही सेग्मेन्ट र केही कमेडियन थप्ने विक्कीले बताए ।