काठमाडौं- काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माले हामीकहाँ असल नेतृत्व हुन नसकेका कारण सुशासन कायम हुन नसकेको बताएका छन्।
सोमबार राजधानीमा ‘विचारी अहिमान श्रेष्ठ र बाटो निगालेको सेरोफेरो’ नामक कृतिको लोकार्पण गर्दै डा. शर्माले भने, ‘हामीकहाँ असल नेतृत्व हुन नसकेकै कारण सुशासन कायम हुन सकेन र त्यही कारण आर्थिक विकासमा हामी पछि पर्यौं।’
ऐतिहासिक सिन्धुलीगढी निकटवर्ती गाउँ बाटो निगालेमा जन्मिएर सामाजिक, शैक्षिक एवं न्यायिक क्षेत्रमा योगदान पु¥याएका दिवंगत अहिमान श्रेष्ठको २९ औं स्मृति दिवसमा आयोजित समारोहमा संस्कृति एवं भाषिक आन्दोलनका अगुवा मल्ल के. सुन्दरले बताए, ‘अहिमान र उहाँको पुर्खा काठमाडौंको मखनबाट व्यापार गर्ने सिलसिलामा सिन्धुली गएको हुनुपर्छ।’
कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘यो पुस्तक प्रकाशनसँगै अहिमानका सन्ततिहरूले इतिहासको जगलाई ताजगी तुल्याउने कार्य गर्नुभएको मैले महशुस गरेको छु।’
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. लोकबिक्रम थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, डेयरी विज्ञ टेकबहादुर थापा, पूर्वसहसचिव डा. रेवतीमान श्रेष्ठ, देवकुमार श्रेष्ठ, निरु श्रेष्ठलगायत वक्ताले आ–आफ्नो मन्तव्य राखेका थिए।
पुस्तकमाथि समीक्षात्मक टिप्पणी पत्रकार दीपक विहीनले गरेका थिए। सिन्धुलीगढी बाटो निगाले समाज र विचारी अहिमान श्रेष्ठ परिवारबाट संयुक्त रूपमा प्रकाशित सो पुस्तक लोकका व्यक्तिद्वारा लेखिएको पुस्तक रहेको समीक्षक विहीनले बताए।
दिवंगत अहिमान श्रेष्ठको जीवन यात्रामा जोडिएका विभिन्न व्यक्तिहरूका संस्मरणका साथै श्रेष्ठद्वारा रचित ख्याली, भजनलगायत रचनाहरू समाविष्ट सो पुस्तकको सम्पादन विवश वस्तीले गरेका हुन्। सो पुस्तकमा तात्कालिक सिन्धुलीगढी र त्यस वरपर भेगका जीवन्त सन्दर्भहरू उजागर भएका छन्।