ब्रिसबेन- कन्सर्टको केही दिनअघि मात्र नेपथ्य ब्रिसबेन आइपुगेको थियो। गायक अमृत गुरुङसँग भेट्न एक पुराना परिचित आफ्नो बच्चासहित आइपुगे। अमृतले ती बच्चासँग संवाद गर्न खोजे। बच्चाले अप्ठेरो माने। किनभने, उनी नेपाली बोल्न जान्दैनथे।
‘त्यसो भए तिमीले नेपालमा हजुरबुवा र हजुरआमासँग कसरी कुरा गर्ने गरेको छौ त?’ अमृतले अंग्रेजीमै सोधे।
‘मेरो हजुरबुवा, हजुरआमासँग कुनै संवाद हुँदैन,’ ती बच्चाले पनि जवाफ दिएछन्, ‘हामी हेल्लो र हाइमै सीमित छौं।’
यो घटनाबाट स्तब्ध भएका अमृतले सोमबार बेलुकी ब्रिसबेनको भब्य ‘फोर्टिच्यूड म्युजिक हल’मा टनाटन भरिएका दर्शकसामु आफ्नो मनको गाँठो फुकाए। ‘बच्चालाई उसको भाषाबाट अलग्याउनु भनेको उसलाई उसको जरोबाट विमुख बनाउनु हो,’ अमृतले कन्सर्टकै क्रममा आह्वान गरे, ‘हजुरबुवा, हजुरआमासँग संवादै नगरेर हुर्कने पुस्ता तयार पार्नेजस्तो गल्ती कदापि नगरौं।’
जवाफमा हलभरिका दर्शकले चर्को आवाज र तालीले समर्थन जनाए।
‘बाँकी जेजस्तो भए पनि हामी नेपाली हौं,’ अमृत थामिएनन्, ‘एउटा नेपालीले अर्को नेपालीसँग संवाद गर्ने एउटै यो माध्यम भाषालाई नयाँ पुस्तासम्म जीवित राखौं है।’
‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरी म¥यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतहरू प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतहरूले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शनहरू पनि बोकेका हुन्छन्।’
कन्सर्ट अवधिमा उनले विदेशमा सबै नेपालीहरू मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे।
अघिल्ला कन्सर्टहरूमा प्रस्तुत गरिएका गीतहरूको सेटलाई नै दोहो¥याइएको ब्रिसबेनको कन्सर्टमा पनि ‘यो जिन्दगानी’ गीत गाउने क्रममा सडक आश्रितहरूका दृश्य देखाइएको थियो। नेपालस्थित मानवसेवा आश्रमका आश्रितहरूको मन छुने दृश्य समेटेको त्यो भिडियोले धेरै दर्शकको मन छोएको देखिन्थ्यो। त्यसै क्रममा अमृतले यो सिंगो वर्ष ब्यान्डलाई ‘मानवताको लागि संगीत’को निम्ति समर्पित गरेको उल्लेख गर्दै हालै यसै नाराका साथ नेपालभर गरिएको भव्य यात्राको स्मरण पनि गरे।
अस्ट्रेलियाको तेस्रो ठूलो शहरमा सोमबार आयोजित कन्सर्टसहित नेपथ्य यस स्थानमा पाँचौंपटक उभिन पुगेको छ। एक दशक अघिसम्म पनि मुश्किलले केही हजार मात्र नेपाली बसोबास गर्ने यो शहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनोट गर्नेहरू विस्तारै राम्रै उपस्थितिमा परिणत हुन थालेको देख्न सकिन्छ।
‘यति भव्य रूपमा सम्पन्न कन्सर्टको हिस्सा बन्न पाएकामा मेरो सम्पूर्ण टिम खुशीले गदगद भएको छ,’ स्थानीय आयोजक टोलीमध्येका सुनिल बस्नेत भन्दै थिए, ‘दर्शकको उपस्थिति र अत्यन्त सकारात्मक प्रतिक्रियाले यो कार्यक्रमलाई भव्य र सभ्य बनाइदियो।’
सबै पुस्ताका दर्शक अटाएको हलमा वृद्ध बाआमादेखि तन्नेरी केटाकेटीसम्म त भरिएकै थिए। त्यसैमा ह्विलचियर गुडाउँदै आइपुगेका विकास चापागाईं पनि देखिन्थे। पाँच वर्षकै उमेरदेखि ‘मस्कुलर डिजेनरेसन डिस्ट्रोफी’का शिकार विकास हाल ४३ वर्षका छन्। नेपालमा विश्वविद्यालयमै सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण गरेपछि उनी ११ वर्षअघि पूर्ण छात्रवृत्तिमा अस्ट्रेलिया आएका हुन्। र, ‘कम्युनिटी सर्भिस’मा स्नातकोत्तर गरिसकेका छन्। हाल त्यही क्षेत्रमा कार्यरत विकास नेपाली लोक रकको प्यास मेट्नकै निम्ति ‘फोर्टिच्युड म्युजिक हल’सम्मै आइपुगेका थिए।
‘मलाइ त नेपालै पुगेजस्तो पो भयो,’ उनी भनिरहेका थिए, ‘नेपथ्यका गीतहरू सुनिरहँदा खुशीले कतिपटक चिच्याएँ अनि कतिपटक त थाम्न नसकेर रोएँ पनि।’ कार्यक्रम अवधिभर विकास बारम्बार ह्विलचियर हल्लिनेगरी मच्चिरहेका देखिन्थे। ‘अमृत दाइले मञ्चबाट एक किसिमको ऊर्जा फैलाइरहेका थिए,’ विकासले थपे, ‘त्यो ऊर्जा आफूभित्र पनि भरिँदै गएको म महशुस गरिरहेको थिएँ।’
अर्की दर्शक रिना मोक्तानले ब्रिसबेनमा आजसम्म हेरेका व्यवस्थित कन्सर्टहरू मध्येकै आफूलाई यो सबैभन्दा भव्य लागेको प्रतिक्रिया दिइन्। उनी परिवारका साथ आएकी थिइन्।
‘विदेशमा कार्यक्रम गर्दा सप्ताहान्त परेन भने दर्शक जुटाउन गाह्रो पर्छ भन्ने मान्यता निकै अघिदेखि चल्दैआएको थियो,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ब्रिसबेनमा नेपाली मात्र होइन, विदेशी दर्शकको पनि सोमबारका दिन भव्य उपस्थितिले त्यो पुरानो मान्यतालाई पनि तोडिदिएको छ।’
ब्यान्ड र व्यवस्थापनको १३ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सधैंजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
ब्रिसबेनको प्रस्तुतीसँगै नेपथ्यले अस्ट्रेलियामा यो वर्षका निम्ति प्रस्तावित आठमध्ये तेस्रो सो सम्पन्न गरेको छ।
टोलीले अबको यात्रा क्यानबेरातर्फ गर्नेछ, जहाँ ३ फेब्रुअरीमा फेरि नेपथ्य घन्किने छ। अस्ट्रेलियाको केन्द्रीय राजधानी यो शहरमा नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको हो। त्यहाँस्थित ‘म्येनिङ क्लार्क हल, काम्ब्री’मा सो आयोजना हुँदैछ।
त्यसपछि ब्यान्ड पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’ हुँदै अन्तिममा अस्ट्रेलियाकै पुछारतर्फ लाग्नेछ। बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा १७ फेब्रुअरीमा यसपटक अस्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुती नेपथ्यले दिनेछ।