श्रीनगर- बुधबार रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ले कश्मीरमा ऐतिहासिक रेकर्ड कायम गरेको छ। ३३ वर्षपछि कश्मीरका सिनेमाघरमा पहिलोपटक हाउसफुलको बोर्ड टाँगिएको छ।
फिल्म ‘पठान’लाई लिएर कश्मीरका दर्शकमा काफी उत्साह देखिएको छ। सन् १९९० मा कश्मीर उपत्यका अशान्त हुन थालेयता पहिलोपटक त्यहाँका सिनेमाघरमा हाउसफुलको बोर्ड टाँगिएको हो।
शहरका सिनेमाघरमा ‘पठान’ हेर्न दुर्गम गाउँहरूबाट दर्शक उर्लिएका छन्। खासगरी, शाहरुख र सलमान खानलाई एकसाथ फिल्ममा देख्न पाएकामा उनीहरूले खुशी व्यक्त गरेका छन्।
बढ्दो अशान्तिका कारण कश्मीरका शहरी क्षेत्रका सिनेमाघर धमाधम बन्द भइरहेका थिए। तर, ‘पठान’ प्रदर्शनमा आएपछि ती हल धमाधम खुलन थालेका छन्।
स्थानीय मल्टिप्लेक्सका सञ्चालक विकास धरका अनुसार कश्मीरमा शाहरुख खानका फिल्म ठूलो पर्दामा पहिलोपटक देखाइएको छ। र, पहिलो दिनदेखि नै सिनेमाघरहरू हाउसफुल छन्।
सन् १९९० को दशकअघि कश्मीरमा दर्जनौं सिनेमाघर थिए। तर, आतंकवादी आक्रमण हुन थालेपछि ती हल धमाधम बन्द भए। त्यसयता पूर्ण रहे त्यहाँका सिनेमाघर। सन् २०२२ मा श्रीनगरको शिवपुरामा पहिलोपटक आइनेक्स नाममा मल्टिप्लेक्स खुलेको छ।