काठमाडौं– चलचित्र विकास बोर्ड नियुक्त भएदेखिनै विभिन्न विवादमा फसिरहेका अभिनेता भुवन केसी फेरि विवादमा मुछिएका छन् । ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियमका कारण विवादमा मुछिएका उनी फेरि अर्को विवादमा मुछिएका छन् ।
उनी यसपटक भने अभिनेत्री पूजा शर्मालाई बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेपछि उनी फेरि विवादित बनेका छन् । शर्माको नियुक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ । चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेदविरुद्ध काम गर्ने समितिमा महिलालाई पीडा दिने शर्मालाई किन र केका लागि ? जस्ता प्रश्न सामाजिक सञ्जालमा भुवनप्रति उठिरहेका छन् । कतिपयले भुवनबाट योभन्दा बढी के अपेक्षा गर्ने समेत भनेर उडाएका छन् ।
बलात्कार पीडित गायिकाविरुद्ध मिडिया र सामाजिक सञ्जालमा सक्रिय हुँदै बलात्कारका आरोपी पल शाहको पक्षमा पटक–पटक उभिएकी शर्माले पीडित गायिकालाई समेत थप पीडा पु¥याएकी थिइन् । त्यस्तो व्यक्तिले महिलाका लागि कसरी काम गर्न सक्छ भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
चलचित्र विकास बोर्डमा दिपाश्री निरौला, आकाश अधिकारी, रविन्द्र खड्का, शोभित वस्नेत, सुशान्तकुमार श्रेष्ठ, विधान कार्की, गोपाल कायस्थ र गोविन्द शाही गरी ८ जना सल्लाहकार छन् । तर, उनको हरेक निर्णय विवादित बन्दा सल्लाहकार समूह र उनी स्वयम्मा प्रश्न उठाउनेहरूको पनि कमी छैन् । हरेक निर्णय विवादित बन्दा हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने भुवनले विकास बोर्ड चलाउन नै नसक्ने हुन्, कि भन्ने टीकाटिप्पणी पनि सुरू भएको छ ।