काठमाडौं- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ ।
उक्त छनोट प्रतियोगिता १८ पुसदेखि हुने तय भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम तथा समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेका छन् । कैलालीको फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको पहिलो खेल १८ पुसमा कञ्चनपुर र बैतडीबीच तथा दोस्रो खेल डोटी र अछामबीच हुने संघले जनाएको छ ।
शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । उक्त छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही २९ पुसदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेल्ने छ ।