काठमाडाैं : इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बनका लागि सिफारिस गरिएकाे छ। प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाइ निलम्वनकाे लागि सिफारिस गरेकाे हाे।
शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएका डीएसपी केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति निवासबाटै नियन्त्रणमा लिएको थियो । उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी सोमबार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीले छानबिन सुरू गरेको थियो ।
पटक-पटक विवादमा मुछिएका डीएसपी केसीले साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडाध्यक्षलाई लात्ताले हानेर पौडी पोखरीमा फालिदिएका थिए । स्थानीय तहका जनप्रतिनिधले कारबाहीको माग गर्दा पनि उनी शक्तिकै आडमा जोगिएका थिए ।