काठमाडौं- नेपाली कांग्रेसका एकजना महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन टुटेको सबै दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्।
पोखरामा जारी नेपाली साहित्य महोत्सवलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हु्न। सत्ता गठबन्धन टुट्नु र नागपास खेलमा ९९ सयबाट तल झर्नु उस्तै रहेको थापाले बताए।
‘नागपास खेल्दा खेल्दै गोटी ९९ बाट तल झरे जस्तो भएको छ’, उनले गठबन्धन टुटेकोबारे भने, ‘म यहाँ आइतबार १० बजे आउने योजना थियो। बिहान ६ बजेदेखि म मोबाइल फोन खोलेर पूरा समय सभापतिको फोन आउँछ भन्दै कुरेर बसेको थिएँ ।’ तर संसदीय दलका पदेन सदस्य आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा दुवैसँग देउवाले एक वचन पनि सल्लाह नगरेको थापाले बताए।
‘हामी दुईजना महामन्त्री संसदीय दलको पदेन सदस्य थियौ। सभापति देउवाले पार्टीसँग छलफल गर्छु अनि गठबन्धनमा निर्णय गर्छु भन्नु भएको रहेछ बालुवाटार बैठकमा,’ उनले भने, ‘तर कोसँग सल्लाह गर्नु भयो थाहा भएन ।’
‘पार्टी कार्यालयमा बैठक बसेको होइन, निवासमा भएको छलफल हो। निवासमा आफैँ जाने कुरा भएन। निवासमै बैठक हुँदा पनि बोलाउँछन् भनेर जहाजको टिकट सार्दै बसेँ। तर फोन आएन, यहाँ आउँदै गर्दा म एकदमै अपमानित भएर आएँ,’ उनले भने ।
उनले गठबन्धन टुटेको हिजोको घटनापछि देशैभरी कांग्रेसमा आवद्ध कार्यकर्ताहरुलाई नयाँ शिराबाट अघि बढ्न आग्रह गरे।
‘अब हारजितको प्रकरण सकियो। नेपाली कांग्रेस फेरि उठ्छ र उठाइन्छ,’ उनले भने, ‘फेरि यसलाई बनाइन्छ। शुद्ध र सवल कांग्रेस बनाएर हामी देखाउँछौं ।’