काठमाडौं- हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने भएको छ।
सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन्। केन्द्रीय कारागारको गोलघरमा रहेका उनलाई शुक्रबार कैद मुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।
आवश्यक कानूनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्स पठाइने गृह मन्त्रालयका एक अधिकारीले बताए। नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सक्ने अधिकार विभागसँग छ। त्यसको प्रयोग गरेर शोभराजलाई आउनै नपाउने गरी डिपोर्ट गर्न लागिएको हो ।
विभागले यस विषयमा गृह मन्त्रालयसँग पनि राय लिएको थियो। गृहले कानूनमा भएको अधिकार प्रयोग गरेर आवश्यक निर्णय लिन निर्देशन दिएको छ। ‘कारागारले अध्यागमनको जिम्मा लगाएपछि कानूनी र कागजी प्रक्रिया पूरा गरेर पुनः नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने तयारी भइरहेको छ, यसबारे नेपालस्थित फ्रान्सेली दूतावासका अधिकारीसँग पनि समन्वय भएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।
अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले कारागारको पत्र अध्ययनपछि डिपोर्टको प्रक्रिया अघि बढ्ने बताए। ‘अध्यागमन कानूनमै यस विषयमा स्पष्ट व्यवस्था छ, त्यहीअनुसार निर्णय लिन्छौं,’ पाण्डेले भने। शोभराजले तत्काल फ्रान्स नफर्की नेपालमै केही समय बस्ने व्यवस्था मिलाउन आग्रह गरेको तर विभाग त्यस्तो निर्णय गर्ने पक्षमा नरहेको स्रोतले बतायो।
उनले १० दिन गंगालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्। ‘होटल वा अध्यागमनको निगरानीमै बसेर १० दिन अस्पतालमा बस्ने व्यवस्था मिलाइदिन शोभराजले आग्रह गर्नुभएको छ, यस विषयमा अध्यागमनसमक्ष हामी आग्रह गर्छौं,’ कानून व्यवसायी गोपाल शिवाकोटीले भने। जेठ ०७४ मा गंगालाल अस्पतालमै उनको मुटुको शल्यक्रिया भएको थियो ।
अन्तर्राष्ट्रिय ‘सिरियल किलर’ का रूपमा चर्चित उनलाई जेलबाट रिहा गरेर नेपालमै बस्ने गरी व्यवस्था मिलाउन नसकिने एक सरकारी अधिकारीले बताए। ‘उनका अरू देशमा पनि अपराध रेकर्ड हुन सक्छन्, अरू देशमा फरार सूचीमा रहेका व्यक्तिलाई हामीले जेलबाट रिहा गरेर नेपालमा बस्ने व्यवस्था मिलाउनु उचित होइन, त्यसलाई समेत मध्यनजर गरेर डिपोर्टको निर्णय हुन्छ,’ ती अधिकारीले भने ।
२०६० मा पक्राउ परेका शोभराज योजनाबद्ध रूपमा उन्मुक्ति पाउने मनसायका साथ नेपाल आएको एक पूर्वआईजीपी बताउँछन्। ‘विदेशमा अपराध गरेर जोगिन नेपाल आएका थिए, भक्तपुर घटनाबारे आफूविरुद्ध नेपालमा कुनै प्रमाण नभएको र पक्राउ परिहाले योजनाबद्ध रूपमा छुट्ने मनसायका साथ उनी नेपाल आएका थिए, त्यसपछि नेपालमा बसेर अपराध दुनियाँका विषयमा सनसनी फैलाउने योजनामा उनी थिए,’ ती पूर्वआईजीपी भन्छन् ।
उनका अनुसार त्यसबेला उनी नेपालमा रहेको घटना पनि त्यस्तै नाटकीय रूपमा बाहिरिएको थियो तर प्रहरीको सावधानी र चलाखीपूर्ण अनुसन्धानले पहिलेको अपराधबाट भाग्न पाएनन्।
शोभराज पक्राउ परेदेखि नै रिहा गर्न विभिन्न कसरत भएका थिए तर अदालतबाटै दोषी ठहर भएपछि उनले करिब दुई दशक नेपालको जेलमा बिताइसकेका छन्। पछिल्लोपटक उनका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो ।
२०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानाडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सुनाएको थियो। भक्तपुर अदालतको फैसलालाई १४ साउन ०६७ मा सर्वोच्चले सदर गरेको थियो। दुई विदेशीको हत्यापछि फरार भएका शोभराज घटनाको २८ वर्षपछि २ असोज ०६० मा काठमाडौंबाट पक्राउ परेका थिए। त्यसपछि उनी संलग्न हत्याकाण्डको मुद्दा ब्युँतिएको थियो। त्यही मुद्दामा सजाय भुक्तान गरिरहेका शोभराज १ असोज ०८० सम्म कैद बस्नुपर्ने हो तर सर्वोच्चले भक्तपुरको हत्या प्रकरणबाहेक अरू मुद्दामा संलग्न नभए वृद्ध अवस्था र दीर्घरोगीजस्ता विषयमा कारागार नियमावलीअनुसार पाउने छुट दिएर रिहा गर्न आदेश दिएको थियो ।
कान्तिपुर दैनिकबाट