काठमाडौं– नेपालगञ्जमा लाग्ने बाक्लो हुस्सुका कारण सिमकोटका लागि कम उडान हुँदा यात्रुले टिकट पाउन सास्ती खेप्नुपरेको छ । हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाई जहाजको टिकट पाउनै मुस्किल हुन थालेको छ ।
तीन दिनअगाडि नेपालगञ्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएर हैरान भएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको दम्पत्ती नेपालगञ्ज जान लागेको हो । उनले तीन दिनदेखि एयरलाइन्सका कार्यालयमा दैनिक धाए पनि टिकट पाउन नसकिएको उनको भनाइ छ।
उनीजस्ता यात्रु दुई सयभन्दा छन् । समिट एयर सिमकोटका इञ्चार्ज गोविन्द लामाले नेपालगञ्जमा तीन चार दिनदेखि बिहानैबाट दिउँसो १२ बजेसम्म हुस्सु लागेर कम उडान हुँदा यात्रुलाई टिकटको समस्या भएको हो ।
बिहीबार नेपालगञ्जमा लागेको हुस्सुका कारण सिमकोटका लागि कुनै उडान हुन सकेको थिएन । शुक्रबार पनि ढिलो गरेर एक तारा र समिटले उडान भरेका थिए । हुम्लामा चिसो हुने हुँदा माथिल्लो हुम्लाका स्थानीय तराईमा जाडो छल्न जाने गर्छन् ।