काठमाडौं- पर्वतस्थित मोदी खोलामा निर्माणाधीन १८ मेगावाटको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ। आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन शुरु गरिएको छ।
मिडिल मोदी हाइड्रोपावर लिमिटेडले मंसिर ०७१ मा शुरु गरेको आयोजना आठ वर्षमा सम्पन्न भएको हो। करिब चार अर्ब रुपैयाँ लगानीमा निर्माण भएको आयोजनाबाट सोमबारदेखि परीक्षण उत्पादन शुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए। उनका अनुसार विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडानबारे अध्ययन गरिरहेको छ।
निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको हो। खरेलका अनुसार परीक्षण उत्पादन शुरु गरेपछि उत्पादित विद्युत् १३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ। १४ दिन परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा बिजुली जोडिने छ।
आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ, ती सबै काम पूरा भएका छन्। प्रसारण लाइनसमेतको निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताए।
शुरुमा दुई अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपले गरेको हो। ०७१ सालमा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए। आयोजना निर्माणमा ढिलाइका कारण लागत बढेको छ।
२०७२ सालको भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिरोको पनि उस्तै जटिलता बेहोरेको थियो। पछिल्लो एक वर्षयता आयोजना निर्माणमा कुनै अवरोध नभएका कारण कामले तीव्रता पाएको थियो।
पर्वतको मोदी गाउँपालिका–२ केंगामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा छ। आयोजनाको दुई हजार ३९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइनेछ। निर्माण शुरु गर्ने बेलामा १५.१ मेगावाट अनुमान गरिए पनि क्षमता बढेर १८ मेगावाटमा पुगेको छ।